Latest News

14
Apr

नेपाली नया वर्ष २०७२ सालको सुभकामना !!!

गोरखाली समाज यूके परिवार लगायत जतिपनि देस बिदेसमा रहनु भएका नेपालीहरु प्रति नेपाली नया वर्ष २०७२ सालको सुखत उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

भरत रोका
अध्यक्ष
गोरखाली समाज यूके साथै सम्पूर्ण परिवार

28
Mar

गोरखा समाजले स्वास्थ्य शिविर संचालन गर्ने

कतार । कतारवासी गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज कतारले गोरखा जिल्लामा २ दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लाको पुर्वी उत्तरमा रहेको थुमी गा.वि.स. स्थित आरखेतमा आगामी बैशाख ४ र ५ गते लायन्स क्लव अफ आरुघाट गोरखा संगको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिने भएको हो । गोरखा सेवा समाज कतारका कार्यवाहक अध्यक्ष सुदर्शन भट्टका अनुसार समाजको बार्षिक कार्य योजना अनुसार र केही महिना अघि देखिको आन्तरिक छलफल तथा जिम्मेवारी दिईएका सदस्य साथीहरुको प्रगति प्रतिवेदनलाई मार्च २७ मा बसेको बैठकले छलफल गरि सो शिविर कार्यक्रमको निर्णय गरिएको बताउनु भयो । यस कार्यक्रम सञ्चालनको लागि स्थानिय लायन्स क्लव अफ आरुघाट गोरखाको प्रमुख भूमिका रहने पनि उहॉले बताउनु भयो । संस्थाका सचिव धन बहादुर श्रेष्ठले शिविर कार्यक्रम सञ्चालनको प्रतिवेदन पेश गर्ने जिम्मेवारी संस्थाका केन्द्रिय सदस्य पुरुशोत्तम लामिछानेलाई दिईएको बताउनु भयो । उहॉका अनुसार सो शिविर कार्यक्रमका संस्थाका तर्फबाट अध्यक्ष आश बहादुर गुरुङ र सचिव धनबहादुर श्रेष्ठले उपस्थित जनाउने तथा नेपालमा नै घर विदामा रहनुहुने संस्थाका सदस्यहरुलाई पनि उपस्थिती जनाउन अनुरोध गर्ने निर्णय गरिएको छ । यसका साथै समाज सेवा प्रति धनी मन भएका कतारवासी गोरखालीहरुले गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्याथीहरु मध्येबाट एक छात्र र एक छात्रा गरि दुई जनालाई बार्षिक रुपमा एक पटक छात्रवृत्ति र सामुदायिक विद्यालयहरुको भौतिक साधनहरु मर्मत गर्न वा खरिद गर्न तथा खेलकुदका सामाग्रिहरु खरिद गरी उपलब्ध गराउन हाललाई नेपाली रुपिया पाच लाख रकमको अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको जनाएको छ । यस कार्यको लागि कतारवासी नेपालीहरु र स्वदेश तथा विदेशमा कार्यरत समाजसेवीहरु, व्यवसायीहरु संघ संस्थाहरु संग सहयोग बारे औपचारिक कुराकानी गरिने पनि जनाएको छ । बुधबल गुरुङ – See more at: http://www.nepalbritain.com/?p=28111#sthash.FnZN6Vwm.dpuf

10
Mar

आचार्यको मोह पुरस्कृत

 

वीनेपाली

लन्डन । बेलायतवासी साहित्यकार विकलचन्द्र आचार्यको चौंथो कृति ‘मोह’ ले २०७० सालको हरि उत्कृष्ट प्रतिभा पुरस्कार प्राप्त गरेको छ । गोरखा बजारमा आयोजित एक समारोहबीच उक्त पुरस्कार आचार्यका पिता दीर्घ शिक्षासेवी रामचन्द्र आचार्यलाई वरिष्ठ समालोचक तथा साहित्यकार डा. वासुदेव त्रिपाठीले प्रदान गरे ।

उक्त पुरस्कार वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ राजेश्वर देवकोटाले आफ्ना बाबु हरिप्रसाद देवकोटाको स्मृतिमा स्थापना गरेका हुन् । गोरखा जिल्लावासी साहित्यकारलाई प्रोत्साहित गर्न उक्त पुरस्कार स्थापना गरिएको जनाइएको छ ।

गोरखा बजारमा जन्मेका विकल आचार्य दुई दशक भन्दा बढि समयदेखि बेलायतमा बस्दै आएका छन् । उनको पुरस्कृत मोह उपन्यासले परदेशी भूमिमा नेपालीले गर्नुपरेका संघर्ष, सफलता र असफलता, वाध्यता, विवशता र राष्ट्रको मायाले घनिभूत भइ जीवन बिताएका अनेकौं आयाम सहितका विषयवस्तु पस्केको छ ।

साहित्यकार प्रदीप नेपालको विचारमा जीवनका भिन्नभिन्न आयाम मोह उपन्यासमा समेटिएका छन् । ‘त्यहां मायामोह मात्र छैन् । त्यहां पीडा छ, कष्ट छ, नोस्टाल्जिया र प्रतिक्रियाविहीनता पनि छ । नयां लेखकको यो एउटा सुन्दर उपन्यास हो’, नेपालको विश्लेषण छ ।

कवि तथा नाटककार गोपी सापकोटाले मोहलाई नेपाली डायस्पोरा जीवनको ऐना भनि संज्ञा दिएका छन् भने समालोचक डा. यादव लामिछानेले मोहमा आप्रवासी जीवनका पीडा, दुःख र मातृभूमिको सम्झनाले उत्पन्न गराएको न्यास्रोपनको अभिव्यक्ति सशक्त रुपमा प्रकट भएको टिप्पणी गरेका छन् ।

आचार्यका यसअघि लण्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आंगनमा गोर्खाली सुवास प्रकाशित भइसकेका छन् ।

– See more at: http://wenepali.com/2015/03/7464.html#sthash.HWnfUiel.dpuf

 

04
Mar

गोरखाली समाज यूके को बार्षिक मिटिंग समन्धी जानकारी !!!

 Gorkhali Samaj UK Annual AGM

Samuel Cody Sport College
Ballantyne Road ,Farnborough ,Hampshire, GU14 8SN

11 April 2015 ( Saturday) 1145 hrs.

 

सम्पूर्ण कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु, आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवार मा नमस्कार

बिषय: गोरखाली समाज यूके को बार्षिक मिटिंग समन्धी जानकारी !!!

हाम्रो समाजको बार्षिक मिटिंग यहि आउने ११ अप्रिल २०१५ का दिन Samuel Cody Sport College
Ballantyne Road ,Farnborough ,Hampshire, GU14 8SN मा बिहानको ठिक ११४५ बजे बाट हुने भएकोले उपस्थितिको लागि कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु, आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवारलाइ हार्दिक अनुरोध गर्दछु ।

उक्त दिनमा केकस्ता कुराहरुमा छलफल हुने बिसयमा समाजका सचिब अशोक ढकाल को इमेल बाट आबगत पाई सक्नुभयो होला यदि पढि नसक्नु भएको छ भने समाजको वेब : www.gorkhalisamaj.co.uk मा गएर हेर्न सक्नु हुनेछ ।

यदि तपाई हरुको सदस्यता नबिकरण गर्नु परेको छ या नया सदस्यता बन्नु चाहना गर्नु भएको छ साथै आजिबन सदस्यता लिनु हुन्छ भने तलको ठेगानामा समाजका कोषाध्यक्ष भिम प्रसाद तामांग सग सम्पर्ग गरि बन्न सक्नु हुनेछ भन्ने अनुरोध गर्न चाहन्छु ।

Bank Account Details:
Bank: HSBC
Account Name: Gorkhali Samaj UK
Sort Code: 40-35-45
Account Number: 41520261
If you send Cheque by post Treasure Address as follow:
Bhim Prasad Tamang
37 Churchill Crescent
Farnborough Hampshire
GU14 8EL
Mob: 07725857501
E-Mail: bhimprasad@hotmail.co.uk

उक्त बार्षिक मिटिंगको दिन पुर्ब घोसित एजेन्डा (कार्यसमेति मिटिंग १४ फेब्रुवरी २०१५ वेब साहिडमा हेर्न सक्नुहुनेछ ) माथि छलफल गरिने र यदि हामीले राखेका एजेन्डा बाहेक समाजलाई रचनात्मक हुने छन् भने यहि मार्च महिनाको अन्तिम दिन सम्ममा पठाउनुहोला हामी योग्य भएमा समाबेस गर्नेछौ ।

साथै उक्त दिनको मिटिंगमा कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु, आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवारका साधारण सदस्यहरु लाइ समाजको बारेमा केहि जानकारी गराउने उदेस्य बोल्न चाहनु हुन्छ भने यहि मार्च महिनाको अन्तिम दिन सम्ममा यसै इमेल बाट जानकार गराऊनु होला हामी हाम्रो एजेन्डा मा समाबेस गर्ने छौ ।

समाजको वेब साहिड: www.gorkhalisamaj.co.uk हामीले समयानुकुल नया पुराना लेख समाबेस गर्दै गएका छौ हेर्दै गर्नुहोला ।

यो बार्षिक मिटिग भएको हुनाले समाजको एक बर्समा भएका गतिबिधिहरु समाज लाइ जानकारी गराउनु पर्ने भएकोले समपूर्ण जिल्ला बासीलाई उक्त दिन उपस्थिको लागि हार्दिक बिनम्र अनुरोध गर्दछु । “जय गोरखाली समाज यूके”

भरत रोका
अध्यक्ष
गोरखाली समाज यूके
Mob: 07828289602
Web site: www.gorkhalisamaj.co.uk

04
Mar

पहिलो पटक लिगलिग कोटमा प्याराग्लाइडिङ उड्दा…..

आदर्श नेपाल संवाददाता

विनोद लामिछाने दौडमा जो पहिलो भयो त्यहि व्यक्ति वर्षदिन सम्म राजा हुने पराम्पराबाट विकास भएको गोरखाको लिगलिगकोटबाट पहिलोपटक प्याराग्लाइडिङ्ग उडेको छ । प्याराग्लाइडिङ्ग पाइलटहरु अर्जुन बराल, निसिम थापा, सुनिल भट्टराई र अन्य तीन विदेशी पाइलटहरुले लिगलिग कोटबाट उडान गरेका हुन् । झण्डै २० मिनेट गोर्खाको आकाशमा उड्दै उनीहरुले ठाँटिपोखरी बजारमा अवतरण गरेका थिए । बृहत् गोरखा राज्यको निर्माण अभियानको प्रारम्भ लिगलिगबाटै भएको थियो । द्रव्य शाह महत्वाकांक्षी एवं लडाकु राजा थिए । द्रव्य शाहको उदयपूर्व लिगलिगमा मगरहरुको एकतन्त्रीय शासन थियो । प्रत्येक वर्ष दौड प्रतियोगिताबाट प्रथम हुनेलाई वर्ष दिनका निम्ति राजाको रुप छनौट गर्ने प्रचलन थियो । दौड विजयबाट राजा घोषित हुने यो परम्परा शासक छनौटको सन्दर्भमा विश्वमा नै अनौठो र अद्वितीय मान्न सकिन्छ । सोहि ठाउँमा पहिलोपटक आफ्नों आकाशमा विशाल चराजस्तै उड्दै आएको अनौठो वस्तु देखेपछि त्यसलाई हेर्न स्थानियहरुको भिड लागेको थियो । प्याराग्लाइडिङ्गमा उड्दै त्यस ठाउँमा उत्रिएका पाइलटहरुलाई पञ्चेबाजा, अबिर र फुलमालाले स्वागत गरियो । उडानको चाँजोपाँचो पोखरा प्याराग्लाइडिङ्ग कम्पनीले मिलाएको थियो । स्थानिय व्यवस्थापक प्रकाश थापाले सो खेलबाट त्यस क्षेत्रमा शाहसिक पर्यटन विकासको सम्भावना रहेको औल्याए । विश्वकै प्रख्यात मनाङ्गको थोरङपास प्रवेश मार्गको रुपमा रहेको डुम्रे–बेसिशहरको मध्यभागमा रहेको तुरतुरे बजारबाट नजिकै रहेको ठाँटिपोखरीबाटै लिगलिगकोट पुगिन्छ ।

फरक ठाउँमा आएर प्याराग्लाइडिङ्ग उडाउँदा फरक अनुभुति भएको पाइलट अर्जुन बरालले बताए । स्थानियहरुको मुहारमा देखिएको खुसिले आफुलाई पनि हर्षित तुल्याएको उनले सुनाए । कहिल्यै प्याराग्लाइडिङ्ग नगरिएको ठाउँमा प्याराग्लाइडिङ्ग गर्नु शाहसिक कार्य भएको उनले टिप्पणी गरे । ‘कहिल्यै कोहि नउडेको ठाउँमा पहिलो पटक उड्दा ज्यानकै बाजी लगाएर उड्नु पर्दछ’ बरालले भने । सफल उडान पनि भने सो ठाउँपनि प्याराग्लाइडिङ्गका लागि अनुकुल रहेको प्रतिक्रिया दिए । गोरखा सदरमुकामबाट पश्चिममा ४ र ५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने लिगलिगकोट ऐतिहासिक पर्यटकिय स्थलका रुपमा रहेको र सो दरवारको भग्नावशेष यद्यपी त्यहाँ विद्यमान छ । लिगलिग कोटमा अहिलेपनि वर्षेनी दौड प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् । – See more at: http://aadarshanepal.com/archives/16076#sthash.Ew2jIahy.dpuf

16
Feb
35130_143480995669164_100000217946145_443057_1865003_n

हिउँले किचिएको बार्पाक!

डा. माधव प्रसाद पोखरेल

गोर्खा जिल्लाको उत्तरपूर्वको हिमाली भेगमा पर्ने बार्पाक गाउँमा जाने सौभाग्य मैले आफैँले रोजेर पाएको होइन, तर त्यो गाउँको झझल्को मलाई कहिल्यै नमेटिने गरी आइरहन्छ । दरौँदी नदीको गड्तिरै गड्तिर धेरै समय लगाएर सम्म बाटो हिडेको, साँझ झमक्क परे पछि रोमन भी आकारको छिपछिपे बाटामा हिड्दा अजल्टिएर देब्रे हातले सिस्नो समाउन पुगेको, रैथानेहरूले एक-डेढ घण्टामा काट्ने उकालो पाँच घण्टा लगाएर काटेको, बार्पाक जाँदाको उकालो र फर्किँदाको ओरालामा बेग्ला बेग्लै किसिमले खुट्टामा कैँडा लागेको, झ्याल-ढोका नभएको बुइकलमा वास बसेको, हिमाली क्षेत्रका मान्छेलाई त हिउँ पनि किसिम किसिमको हुँदो रहेछ भन्ने चाल पाएको, घलेहरूको भाषालाई गुरुङहरूले घले नाम राख्न छेकेको, नेपाली भाषा मात्र जान्ने गुरुहरूलाई घले भाषा नसिकी विद्यार्थीलाई सिकाउन गारो परेको र भिक्टोरिया क्रसमा कीर्तिमान राख्ने जमदार गजे घलेको जन्मथलो पुगेको अनुभव सबै एकै चोटि गुट्मुटिएर आउँछन् बार्पाकको झझल्कासित ।

दुईतीन वर्ष अगाडि ‘राष्ट्रिय भाषाहरू संरक्षण संस्था’ नाम भएको संस्थाका प्रमुख एस के खालिङले मलाई घले भाषाको वर्ण निर्धारण गर्न बार्पाक जाने निम्तो दिए । म उनको साथ लागेँ । जाडो महिनै थियो । भालुस्वारा सम्म हामी बसमा जानु पर्ने थियो, तर सौभाग्यले हामी गएको दिन चाहिँ बस भालुस्वारा भन्दा पर चनौटे सम्म पुग्यो । त्यहाँबाट हामीले पैदल हिँड्नु पर्ने भएकाले बस अलिक पर पुगी दिएकाले हाम्रो बाटो केही छोटियो । चनौटेबाट हामी बालुवा भन्ने ठाउँ सम्म बास बस्न पुग्यौँ ।

बालुवा पुग्ने वेलामा साँझ झमक्क पर्‍यो । साँगुरो अङ्ग्रेजी भी आकारको बाटाबाट भरिया, खालिङजी र म हिँड्दै थियौँ । कुलाको पानी बगेर बाटो छिप्छिपे भएको थियो । वेला वेलामा भारी बोकेका खच्चडका लर्कालाई बाटो छोडी दिनु पर्थ्यो । एक्कासि अजल्टिएर म देब्रे हात भुइँमा टेक्न पुगेँ । अँध्यारो भए पनि हात अल्लो हो कि सिस्नामा परेछ भन्ने बुझ्न ढिलो भएन । सिस्नाले हात भत्भती पोले पछि के गर्ने भन्ने होसै रहेन । केटाकेटीमा सिस्नाले पोलेका वेलामा सिङान लगाउँदा बिसेक गर्छ भन्ने विश्वास थियो । अर्को केही औषधी आफूसित नभएकाले सिस्नाले पोलेका ठाउँमा मैले सिङानै लगाउने निर्णय गरेँ । सिस्नामा फर्मिक एसिड भन्ने अम्ल भएकाले त्यसले पोल्छ भन्ने मैले कतै पढेको थिएँ । कुनै कुनै चिल्ने कमिलाले पनि टोक्ता हाम्रो जिउमा फर्मिक एसिडले भत्भती पोल्छ अरे । कमिलाले चिलेका वेलामा पनि केटाकेटीमा हामी सिङान दल्थ्यौँ । सिङान चिप्लो हुन्छ । जुनसुकै चिप्लो कुरामा अल्काली हुन्छ अरे । यसरी अमिलो र खरानी मिसाए झैँ हुने रहेछ क्यारे सिस्नो वा कमिलाले चिलेका वेलामा सिङान दल्ने उपचारमा । जे भए पनि धरान छोडेर काठमाडौँ आए पछि मैले कमिलाले चिलेको वा सिस्नाले पोलेका वेलामा सिङान दल्ने मौका पाएको थिइन । तर केटाकेटी हुँदा जस्तो सस्तो सिङान अचेल हुँदो रहेनछ स् सिस्नाले पोलेका ठाउँमा मेरा नाकमा पुग्दो सिङानै आएन । केटाकेटी भए के गरिन्थ्यो कोनिस अहिले साथीसित सिङान सापट माग्न सकिन । पर्सि पल्ट सम्म हात झन्झनाई राखेको थियो ।
बालुवामा एउटा घले दम्पत्तिको लजमा बस्यौँ । त्यस लजका एकदुई ओटा चलन मलाई नेपालभरका लजवालाहरूले सिक्नु पर्ला जस्तो लाग्यो । लजमा जुत्ता बाहिरै खोल्नु पर्ने, लजका चप्पल साट्नु पर्ने र धारामा गोडा धुनु पर्ने चलन रहेछ। लजका सिरक सुकिला राखिएका रहेछन् । लज सञ्चालकहरूले यति कुरो नजान्नाले बाटो हिँड्दा धेरै पल्ट म अघिल्ला बटुवाका मोजा गनाउने सिरक ओढ्न बाध्य भएको छु ।

भोलि पल्ट हामी बार्पाक जाने नाक ठोक्किने ठाडो उकालो चढ्न थाल्यौँ । बाटो हिँड्दा भरियालाई हामी भेट्ता रहेनछौँ । सोलुखुम्बुमा जन्मेका खालिङजीलाई न बाटो हिँड्ने समस्या थियो, न उकालो चढ्ने । म चाहिँ धरान विजयपुरमा जन्मेको हुनाले र अलिकति बूढो पनि भएकाले होला भरियालाई भेट्न खालिङजी नसक्ने, खालिङजीलाई भेट्न म नसक्ने भए जस्तो मलाई लागी रहेको थियो । वास्तवमा खालिङजी मलाई साथ दिन विस्तारै हिँडी रहेका थिए ।
जुनसुकै उकालो चढ्दा मलाई सुरुमा चाहिँ धरान सिंहदेवी वा तीनधारेको उकालाको सम्झना आउँछ, तर बार्पाकको उकालो त बार्पाककै उकालो जस्तो थियो । म पन्ध्र वर्षको उमेरमा दाजुको बिहेमा ताप्लेजुङको सिमा भन्ने ठाउँमा गएको थिएँ। तेरथुम जाँदा तमोर खोलो तरे पछि झन्डै म्याङ्लुङ सम्मको ठाडो उकालो सती बयर फाँक्तै काटेको र टाकुरामा पुग्दा पानी नहालेको मोही खाएको बिर्सन सकिँदैन । खोटाङमा आफ्नै ससुराली जाँदा दूध कोसी र सावा खोलो वारिपारिको उकालो चढेको अनुभव जोड्दा पनि मेरो जीवनमा बार्पाकका उकालाको ठाडो पनलाई केहीले पनि उछिन्न सक्तैन ।

बार्पाकको भन्दा बेग्लै किसिमको ठाडो उकालो चढ्दाको अद्वितीय अनुभव मेरा जीवनमा मैले गुजरातमा गिर्नारको उकालो चढ्दा गरेको छु । गिर्नारमा दश हजार ओटा जति सिँढी चढ्दा र ओर्लिँदा खुट्टामा बेग्लाबेग्लै किसिमका कैँडा लागेर फत्र्याकफत्र्याक मैले बार्पाकको उकालोओरालो गर्दा पनि सम्झेँ ।

बार्पाकमा घाम लागेका वेलामा गुलियो न्यानो भयोस साँझबिहान र बादल लागेका वेलामा गुलियो शीतल भयोस राति मीठो जाडो भयोस पानी परेका वेलामा सिरक र आगो नछोडुँ जस्तो भयोस हिउँ परेका वेलामा बाहिर निस्कुँ जस्तो भयो । झरीमा त्यति हिँडिएनस हिउँमा भने, डुलियोस हिउँ पग्लेर हिलो भएको बाटामा पनि अलिअलि हिँडियो । हिउँमा खुट्टा भासिँदा रमाइलो लाग्छ, तर छिटो हिँड्न सकिँदैन। म चीनमा हुँदा हिउँ परेका वेलामा सडकका पेटीमा हरेक पाइलामा जुत्ता रडकरडक भएको पनि र एकदिन त हिउँमै चिप्लेर लडेका वेलामा अरूले देखे कि भनेर पल्याकपुलुक हेरेको पनि बिर्सिन्न । बार्पाकमा पुगेका वेलामा चाहिँ हिउँ पनि किसिमकिसिमको हुँदो रहेछ भन्ने पहिलो पल्ट चाल पाएँ ।

भोलि पल्ट र पर्सि पल्ट गरेर घले भाषाको वर्ण माला बनाएँ । केलाएर हेर्दा घले भाषा तिब्बती भाषासित नजिकैको अनि तामाङ, गुरुङ, थकाली, मनाङे र छन्त्यालसित टाढाको साइनो लाग्ने भोटबर्मेली भाषा रहेछ । एउटै शब्दमा लागेको स्वरलाई रुद्र घण्टी तलमाथि सारेर उच्चारण गर्दा बेग्लाबेग्लै शब्द बन्ने भाषालाई तानल भाषा भन्दछन् । घले भाषा पनि तामाङ, गुरुङ, थकाली, मनाङे र काइके झैँ तानल भाषा रहेछ । त्यसमा कुनै कुनै ध्वनि त अचम्म लाग्ने रहेछन् ।
घले भाषा भन्दा पनि घले भाषाको सामाजिक समस्या भने डरलाग्दो रहेछ १ घले भाषा गोर्खा जिल्लाका बार्पाक, लाप्राक, गुम्दा, उइया, खोर्ला र इसिनाम भन्ने उत्तरपूर्वी भेगका गाउँहरूमा बोलिने रहेछ । गाउँकी एउटी स्कुल शिक्षकसित कुरा गर्दा के थाह भयो भने, नेपालीमा पढाएको केटाकेटी बुझ्दैनन् अरे अनि गुरुलाई पनि घले भाषा आएन भने, गुरुचेलामा संवादै हुँदैन अरे १
रमाइलो कुरो के रहेछ भने, गाउँका कामीदमाईँ पनि घले भाषा फरर्र बोल्दा रहेछन् । घले भाषा मातृभाषा हुनेमा घलेहरू भन्दा गुरुङहरू बढ्ता रहेछन् । त्यहाँका गुरुङले जानेको भाषै त्यही हो, त्यसैले त्यहाँका गुरुङले त्यो भाषालाई ‘घले भाषा� भन्ने नाउँ राख्नै दिँदा रहेनछन् । मैले लम्जुङ, स्याङ्जा, पर्वत र कास्कीको सिक्लेसका गुरुङहरूसित अन्तरक्रिया गरेर गुरुङ भाषाको वर्ण माला बनाइदिएको छु अनि गुरुङ भाषाका व्याकरणको रूपरेखा पनि तयार गरी दिएको छु । बार्पाकको घले भाषा अरू तिरको गुरुङ भाषा होइन र त्यो गुरुङ भाषाको भाषिका पनि नभएर छुट्टै भाषा हो । त्यो भेग बाहेक लम्जुङ जस्ता अरू तिरका घलेहरू पनि घले भाषा नबोलेर बोल्न जाने, गुरुङ भाषै बोल्छन् । यी परिबन्दले बार्पाकका घलेहरूलाई आफ्नो अस्मिता र चिनारी स्थापित गर्न सारै गारो परेको रहेछ ।

नचिनिने गरी हिउँले पूरै बार्पाक छोपिएको थियो । फुर्कामा हिउँ परेको भारी थाम्न नसकेर बाँस झ्याङमा बाँसका घनाहरू पडकपडक फुटी रहेका थिएस रुखका हाँगाहरू पडकपडक भाँचिएर खसी रहेका थिए । मलाई बार्पाकमा घले र घले भाषाको अस्मिता हिउँको भारी खप्न नसकेर पडक्क फुट्न आँटेको बाँस र रुखको फुर्को जस्तो लागी रहेको छ ।

07
Feb
168136_121874097885531_980755_njkjk1

वारपाक र सेभेन सिस्टर

कैलासवावु श्रेष्ठ/गोरखा
गोरखा जिल्लाकै संभवत सुन्दर र पर्यटकीय गाउँ मानिएको वारपाक नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी जुटन थालेको छ र त्यसको पुरै तयारीको लागी सेभेन सिस्टरको समूह भनेर चिन्न सकिने दल कुमारी घले सहितको टोलीको ठुलो हात छ ।
इतिहासले घले राज्यको उपमा पएको यो गाउँलाई गजे घलेको नामवाट पनि चिन्न सकिन्छ । दोस्रो विश्व युद्वमा वहादुर प्रर्दशन गरेको भन्दै वि्रटीस सरकार वाट भिक्टोरीया क्रस पाउने गजे त अहिले छैनन तर पनि यो गाउँलाई गजे घलेको गाउँ भन्दा कसैको दुई मत नरहला ।
सामान्यतया तपाइ घुम्न जान मन लागेका कस्तो ठाउँको कल्पना गनु हुन्छ ? सफा, सुन्दर र मिलन सार मानिस भएको स्थान । जहाँ जाँदा स्वर्गीय आनन्द आवास । अग्लो भिरमा वसेर चारै चिर हिमाल देख्न पाइयोस । हो यस्तै यस्तै कल्पना गर्नेहरुका लागी घरर्तीकै स्वग हो भन्दा हुन्छ वारपाक ।
गोरखा सदरमुकाम देखी उत्तरमा रहेको यो गाउँमा घले, गुरुङ्ग र परियार जातीको विशेष वसोवास रहेको छ । वडा नम्वर ४, ५, ६, ७, ८ र ९ गरी छ वटा वडा मिलेर वनेको गाउँ नै वारपाक गाउँ हो । पहिले पहिले गोरखा वजार देखी हिडेर जानुपर्ने यो गाउँमा केही साता अगाडी देखी हलुका सवारी साधन समेत चल्न थाले पछि यहाा घुम्म जानेहरुको भिड नै लागेको छ ।
वारपाकको सुन्दरताको वर्णन सायदै कसैले गर्न सक्ला । पंक्तिकार पनि ३३ वर्षको उमेरमा पहिलो पटक ०६६ साल फागुन १० गते वारपाक पुग्दा र गाउँलाई नजिकै वाट नियालेर हेर्दा अचम्मैमा परेको थियो । के यती विकट ठाउँमा पनि यति ब्यवस्थीत गाउँ हुन सक्छ ? के यस्ता मिलनसार मानिस गाउँमा हुन सक्छ ? यस्तै यस्तै कुराले भिजेको दिमागलाई दुई दिने वसाइमा त्यहाँका मानिसले मनै पग्लने गरी स्वागत विदाई गरे पछि कल्पना भन्दा वाहिरको गाउँ रहेछ वारपाक भन्ने लागेको हो ।
यही गाउँमा हुर्की वढेकी हुन दल कुमारी घले । यी नै हुन वारपाक गाउँलाई नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी दिन दुई गुणा र रात चार गुणा काम गरी रहेका छन । उनले यही गाउँलाई चिनाउनका लागी केही महिना अगाडी मात्र वारपाक र वरपर रहेको पर्यटकीय स्थलको डकुमेन्ट्री समेत निर्माण गरी सकेकी छिन । उत्त कार्यका लागी नेपाल पर्यटन वोड पोखराले पनि सहयोग गरेको थियो ।
अहिले उनी वारपाकमा नै वसेर कसरी आˆना गाउँका दाजुभाई तथा दिदीवहिनीहरुलाई विदेशी तथा स्वदेशी पर्यटक गाउँमा भित्र्याउदा के फाइदा हुन्छ भनेर दैनिक भलाकुसारी गर्ने गर्छीन भने अन्य वहिनीहरु काठमाण्डौंमा वसेर वारपाककी आमाहरुलाई पौढ कक्षा संञ्चालन गर्दै छन । पुष्पा, भिमकुमारी, खेमकुमारी, आशा, पुणर्ीमा र दिल कुमारी जस्ता उनका होनाहार वहिनीहरुले उनका यो कार्यलाई सहयोग गरी रहेको छ ।
दल कुमारीकै प्रयासमा अहिले वारपाकमा होम स्टे अर्थात पाहुना घरको अवधारणा अनुसार २० घर भन्दा वढी घरमा एक देखी दुइ वटा कोठा छुट्टाइएको छ भने त्यसमा चाहिने सामानको तयारी समेत भै रहेको छ । अन्य घरहरुमा पनि यस्तै काम गर्ने तयारी उनको भै रहेको छ । `धेरैले कुरा वुझदैनन । सम्झाउदैमा दिन जान्छ` दल कुमारी घलेको गुनासो छ । हामीले वारपाक सम्वन्धी व्रोसर समेत तयार गरी सकेका छौ घलेले भनिन ।
वारपाक गाउँमा ८ सय भन्दा वढी घर भएको अनुमान गरीएको छ । एक घर देखी अर्को घर सम्म जाने सवै वाटो, आँगन र पर्खाल सफा, सुन्दर र ढुङ्गाले विच्छाएर सफा राखीएको छ । के बालक के वृद्वा सवैले सरसफाइमा दैनिक समय दिने गरेकै कारण यो गाउँ नेपालकै सुन्दर र सफा गाउँ हो भन्दा गलत हुने छैन ।
प्रत्येक घरमा दुई जना पर्यटक राख्ने तयारीको साथ योजना तयार गरेकी घलेका अनुसार विदेशी पर्यटक भने वर्षेनी भाद्र देखी कार्त्तिक सम्म मात्र आउने भएकाले अन्य समयमा स्वदेशी पर्यटकलाई आउने वातावरण तयारी जुटेको वताइन । वारपाक गाउँ वाट देखीने ठुलै हिम श्रृखला यसको मुख्य आकर्षक केन्द्र हो भने ठुलो वस्ती र जातिय विभेष विना नै भाइचारा सम्वन्धमा सवैको जातीको वसोवास हुनु अर्को महत्वको विषय हो ।
यो गाउँ वाट धार्चेको लेक, मनास्लु, घ्याच्चोक, नारदपोखरी का साथै मनाङ्ग हुदै लम्जुङ्गको सदरमुकाम वेशिसहर जान सकिन्छ भने गोरखा सदरमुकाममा नै आउनको लागी लाप्राक, गुम्दा, आरुआरवाङ्ग हुदै आरुघाट वजार भएर धादिङ्ग वा गोरखा सदरमुकाम समेत आउन सकिने भएको कारण पनि यसले पर्यटकीय सम्भावना धेरै वोकेको छ ।
२०११ मा ठुलै पर्यटक भित्राउने तयारीमा रहेकी घलेले विभिन्न खालको तालिमको ब्यवस्था गरेकी छिन स्थानिय गाउँलेलाई । ग्रामिण पर्यटनका लागी हो । पााच तारे होटलको जस्तो सुविधा दिन सकिदैन तर पनि हामी कुनै पनि पर्यटकलाइ निरास वनाएर पठाउदैनौ दल कुमारी घलेको दावी थियो । पर्यटककालागी स्थानिय खाना, भेषभूषा र संस्कृतिको विषयमा जानकारी दिने तथा स्थानिय संस्कृतिमा प्रख्याती कमाएको मारुनी, चट्का र रोधी तथा घाटु नाँच देखाइने तयारी पुरा भै सकेको छ ।
यही कार्यका लागी उनले अहिले स्थानिय र वाहिरी संघ संस्थाको सहयोग लिने प्रयास गरी रहेकी छिन । हामीले उनलाई वारपाकमानै भेटदा पनि उनी यही कार्यमा ब्यस्त्त भएको देख्न पाइयो । सायद उनी संग समय नभएर होला उनलाई भेटन हामीले गरेको प्रयास रात ९ वजे मात्र सफल भएको थियो । उनले त्यती धेरै समय गाउँमा खर्चदा समेत नेपाल टुरीजम वोर्ड भनेको कुन पार्टीको हो भनेर स्थानिय गाउँलेले सोध्दा भने समय खर्चेकोमा कहिले कााही दुख लाग्ने गरेको समेत दुखेसो पोखीन ।
उनको मनमा दुखका धेरै पोकाहरु छन तर पनि खोलेर केही हुदैन थाहा छ । नचाहदा नचाहदै पनि उनलाई जाती र पार्टीका कुरा लिएर ज्यान जान सक्ने सम्मको धम्की खपी सकेकी छिन । घले राजाका पाला देखी वोल्दै आएको भाषाका विषयमा केही समय अगाडी देखी विवाद आएको कारण उनलाई यस्तो धम्की आएको हो । घले र गुरुङ्ग जातीको वाहुल्यता रहेको यो गाउँमा घले राजाका पाला देखी वोल्दै आएको भाषाका विषयका घले गुरुङ्ग समुदाय विच विवाद उत्पन्न हुन थाले पछि जो कोही पनि यसको विषयमा खुलेर वोल्न चाहदैनन ।
राडी, पाखी, वाँसको काइयो र ढाकाको कपडामा वारपाकको चिनो भनेर पर्यटकलाई दिने तयारीका साथ केही सातामा नै तालिम चलाउने तयारी पनि पुरा गरेकी छिन दल कुमारीले । ढाकाको कपडा आˆनो समाज र जातीको पहिचान नभएता पनि विश्व स्तरमा नै पहिचान वनाइ सकेको ढाका कपडामा वारपाक भनेर लेखेर दिन सकियोभने त्यसले पनि छुट्टै चर्चा पाउनेमा उनको दाउ रहेको छ ।
चलन चल्तीमा वारपाकमा रहेकी रोशनी आमा र सेभेन सिस्टरको समूहले गाउँमा प्रवेश गर्ने र गाउँ वाट जानेलाई स्वागत र विदाई दुवै गर्ने गर्दै आएको छ । ठुलै सम्मानका साथ स्वागत र विदाई गर्ने यो चलनले जो कसैलाइ पनि एक पटक फेरी वारपाक जाने इच्छा जागृत हुने निश्चित छ । गाउँमा प्रवेश गर्ने जो कोही पुरुषलाई रोशनी आमाले छोराको उपनामले वोलाउने गर्दछ भने सवै संग आत्मीय सम्वन्ध पनि राख्ने गर्दछीन ।
नेपाल भ्रमण वर्ष २०११ मा वारपाकमा ठुलै आन्तरीक तथा वाहृ्य पर्यटक जाउन । शुभ कामना वारपाक लाई र अनि रोशनी आमा र दल कुमारी घलेलाई उनको कार्यको लागी सलाम जस्ले वारपाकको चिनाउनका लागी ठुलै योगदान गर्दै छ ।

02
Feb

मनकामना मन्दिर

मनोकांक्षा पुरा गर्ने देवीका रुपमा प्रसिद्धि पाएकी मनकामना माईको मन्दिर गोरखा जिल्लाको महत्वपूर्ण पर्यटकीय धार्मिक स्थलका रुपमा रहेको छ ।
गोरखा सदरमुकामबाट दक्षिण पूर्व भागमा अवस्थित यस धार्मिक तीर्थस्थलमा जानको लागि गणितीय हिसावमा काठमाडौंबाट लगभग १०२ कि.मी. को दुरी मोटरबाटो यात्रा गरे पश्चात् पैदल यात्राबाट जाने यात्रुहरुका लागि पृथ्वीराज मार्गको आवुँखैरेनीबाट मस्र्याङ्दी नदीको सानो पुल तरेर ३/४ घण्टाको उकालो पैदल यात्रा पार गरेर जानु पर्ने हुन्छ । तर हिजो आज मनकामना भ्रमणमा जाने यात्रुहरुको लागि केवलकारको सुविधा पनि उपलब्ध रहेको छ ।

पृथ्वी राज मार्गको चितवन जिल्लाको किरिनटार नजिकै चरेस भन्ने स्थानबाट मनकामना मन्दिर परिसर नजिकै सम्म करीव २.७ कि.मी. लम्वाई रहेको केवलकार सेवा संचालन भएको छ । उक्त दुरी तय गर्न १०/१२ मिनेट लाग्दछ । मनकामना दर्शनार्थ जाने यात्रुहरुको सुविधाका लागि हिजो आज काठमाडौं तथा नेपालका अन्य शहरीक्षेत्रहरुबाट केवलकारको संचालनस्थल पृथ्वी राजमार्गको चेरेस भन्ने ठाउँसम्म बस सेवाहरु संचालन भएको छन् ।

केवलकारको सेवा उपलव्ध भएपछि मनकामना दर्शनमा जाने प्रवल इच्छा हुँदा हुँदै पनि शारीरिक कमजोरीको कारण पैदर हिड्न नसकिने भै भगवती माईको दर्शन गर्न जान विमुख हुन परेका भक्तजनहरुका लागि र अन्य पर्यटकीय दृष्टिकोणबाट मनकामना जान इच्छुक सबैका लागि केवलकारको सेवाले सहज सजिलो रमाइलोसँग जान सकिने भएको छ ।

शाह वंशका राजा र नेपाली जनताको साझा राष्ट्रिय इष्ट देवीको रुपमा रहकीले मनकामना माई नेपाल राज्यमा अति नै मान्य एवं विशिष्ट देवी भगवतीको रुपमा रहेकी छन् ।

24
Jan
timthumb

गोर्खाली आँटले नै सफलता हात लाग्यो: डा. धिताल

गिरीश गिरी
नेपालमा पनि सम्भव छ मृत मुटु प्रत्यारोपणः
सबै पक्षले चाहना राख्ने हो र संयुक्त पहल हुने हो भने दुई चार वर्ष भित्रै नेपालमा पनि मृत मुटु प्रत्यारोपण गरेर विरामीलाई दीर्घायु प्रदान गर्न सकिने जानकारी डा. कुमुद धितालले दिएका छन्।
गएको महिना मात्र अष्ट्रेलियामा तीनजना मृत व्यक्तिको मुटु तीन जीवित व्यक्तिमा प्रत्यारोपण गरेर नेपाली मूलका यी चिकित्सकले विश्वव्यापी चर्चा कमाएका थिए।
यो पनि हेर्नुहोस्
अष्ट्रेलियामा नेपाली डाक्टर कुमुद धितालको ‘अद्भुत सफलता’

आमा विजया धिताललाई भेट्न विदेशी पत्नीसहित नेपाल आएका उनी यहाँ सार्वजनिक हुन चाहिरहेका थिएनन्। उनका बहिनी र वाल्यकालदेखिका साथीले जिद्दी गरेपछि भने उनले टार्न सकेनन्।
‘सञ्चारकर्मी लिएरै घरमा आउने धम्कीसम्म मेरो सबैभन्दा पुरानो साथी अजयले दिए,’ उनी भनिरहेका थिए, ‘यो भेटघाटको श्रेय उनैलाई जान्छ।’
केहि अघिसम्म पनि विदेशका चर्चित ब्रोडसिट दैनिकहरुमा चर्चा पाएका डा. कुमुदलाई भेट्न ललितपुरस्थित यलमाया केन्द्रमा आइतबार बेलुकी मन्त्रीदेखि मुख्यसचिव हुँदै विभिन्न क्षेत्रका चर्चित हस्तीहरुको जमघट थियो। सबैजसो निम्तालुहरु पत्रकार कनकमणि दीक्षितको विद्युतीय निमन्त्रणाका भरमा जम्मा भएका थिए।
निकै अघि विदेशिएका उनलाई दोहोरो चिन्ने कमै देखिन्थे। बाँकीलाई उनका चिनारुहरुले नजिकै लैजाँदै परिचय गराउने गरिरहेका थिए। रंगी विरंगी खादाहरुले ढाकिएका उनी कुरा गर्न चाहने सबैसँग बोलिरहेका थिए। यति लामो समय विदेशमा बसेर सेवा गरेपनि उनको नेपाली भाषामा यतैको जनजिब्रो भिजेको थियो भने हरेक जिज्ञासाका जवाफ विनम्र शैलीमा दिइरहेका थिए। छेउमा उभिएर तस्बिर खिच्नेहरुको उस्तै हुलमुल थियो।
त्यसै क्रममा नेपालमा मुटु रोगको क्षेत्रका अर्का हस्ती डा. भगवान कोइराला आइपुगे। सामुन्ने देख्ने बित्तिकै पुरानो परिचित प्रतित हुनेगरि दुवैले हात मिलाए र अंगालो मारे।
‘म उपचारमै केन्द्रित भएको हुनाले मुटु प्रत्यारोपण मेरो रुचीको विषय थिएन,’ डा. भगवानले भने, ‘ब्रेन डेथकै निम्ति पनि कानुन नबनेर अल्मलिरहेका बेला अब यो मृत मुटु नै काम लाग्नसक्ने भएपछि यतातिर ध्यानदिन सकिएला जस्तो लाग्नथालेको छ।’
तर, अहिलेको हिसाबले मृत मुटुमा रक्तसञ्चार गराउने प्रविधिकै मात्र ३५ हजार डलर पर्ने भनिरहेको बेलामा यो असाध्यै खर्चिलो हुने पनि उनले जानकारी दिए।

‘गोर्खालीको आँट’
जमघटमा कुमुदले पहिलो मुटु प्रत्यारोपण गर्दाको सकसपूर्ण क्षणलाई पनि उल्लेख गरे।
‘मेशिनमा राखिएको कुनै मृत व्यक्तिको मुटु साह्रै दिक्कलाग्दो देखिन्थ्यो,’ उनले भने, ‘मेशिनमै समेत यति नराम्ररी काम गरिरहेको त्यो मुटुलाई कुनै जीवित व्यक्तिको शरिरमा त राख्दै राख्दिनँ भनेर साथीलाई पनि भनेँ।’
त्यसपछि उनले तत्काल कुनै निर्णयमा नपुगेर एकछिन पर्खने सोच बनाए। एकैछिनमा सुधारका लक्षणहरु देखिए।
‘भर्खर जन्मेको बच्चालाई जुन व्यग्रताका साथ हेरिन्छ हो त्यसैगरि मैले डेढ घन्टासम्म त्यो मेशिनमा चल्दैगरेको मुटुलाई नियालेको थिएँ,’ उनले भने, ‘जुन मुटु देखेर अलिक अघिसम्म दिक्क लागिरहेको थियो, त्यहि मुटु अब किन नचलाउने भन्ने सोँच विकास हुनथाल्यो।’
उनले एकैछिनमा लिएको निर्णयले स्वास्थ्य विज्ञानकै क्षेत्रमा ऐतिहासिक सफलता दिलाइरहेको थियो।
‘दोधारमा अलमलिरहेकै बेला म भित्रको गोर्खाली आँट जागृत भयो,’ उनले भने, ‘त्यो गोर्खाली आँटले यो मुटु चलाइदिन्छु भनेर लिएको निर्णयले नै सफलता हात लाग्यो।’
डा. कुमुदले यसरी ‘गोर्खाली आँट’ भन्ने बित्तिकै एकछिनसम्मै उपस्थितहरुले तालीले स्वागत गरेका थिए।
उनी त्यसपछि पनि थामिएनन्।
कुमुद धितालको नेपाल नाता र तपस्या
‘हामी सबैको जिन्दगीमा एकपटक कहिँ न कहिँ एउटा मौका आउँछ,’ उनले थपे, ‘त्यसलाई समात्न सकिएन भने त्यो पछिगएर रिग्रेट (पश्चाताप) मात्र हुन्छ।’
उक्त प्रत्यारोपण सफल नभइदिएको भए आफूमाथि जे पनि हुनसक्ने अवस्था रहेको उनले बताए।
कुनै समय विदेश बसेर आएका आफ्ना पिता भेट्नेहरुले ‘उताको जस्तो नेपाल कहिले बन्ला?’ भनेर सोध्दा नाजवाफ बन्नेगरेको पिताको अवस्था पनि उनले सम्झे।
‘सय दुईसय वर्ष भनिदिए बौलाहा भन्लान् दस वर्ष भनिदिने हो भने यिनीहरु बाँचिरहेकै हुन्छन् भन्ठानेर बुवाले हावा तालमा पचास वर्ष भनिदिनुहुन्थ्यो,’ उनले भने, ‘तर, नेपालमा चाहना राख्ने हो भने मृत मुटु प्रत्यारोपण गर्न यसरी कुर्नै पर्दैन। एक दुई वर्षमै गर्न सकिन्छ।’
त्यसका निम्ति मान्छेहरु मिलिदिए र सबै विशेषज्ञहरु एकजुट भएर लागिदिए मात्रै पनि पुग्ने उनको भनाइ थियो।
‘यो त्यति असंभव कुरा होइन,’ उनले भने ‘केवल इन्भायरोमेन्ट क्रिएट (वातावरण तयार) गर्नुपर्छ। सकिन्छ।’
साभार सेतोपाटी

23
Jan
3

गोरखाली छोरीको यस्तो ‘पुरुषार्थ’

शिवप्रसाद उप्रेती
गोरखाको छेकम्पार-५, बुर्जी गाउँकी फुन्जो लामालाई समाजमा छोरीको पुरुषार्थ देखाउने ठूलो रहर छ। त्यसैले उनी दुर्घटनामा परेकालाई हेलिकोप्टरमा झुन्डिएर उद्धार गर्ने काम सिक्न थालेकी छन्। ‘हेलिकोप्टरमा झुन्डिएर आठ हजार मिटरभन्दा अग्लो हिमालको आकाशमुनि पुग्दा पनि मनमा कत्ति डर लाग्दैन। बरु अवसर पाए छोरीले पनि साहसी काम गर्न सक्छन् भन्ने सोचिरहेकी हुन्छु’, फुन्जो भन्छिन्।
२७ वर्षीया फुन्जो अहिले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनासलु क्षेत्रमा हेलिकोप्टरमा झुन्डिर हिमालको चुचुरा, खोँच, ग्ल्यासिएरसम्म पुग्ने, मान्छेलाई प्राथमिक उपचार गर्ने, डोरीमा झुन्ड्याएर हेलिकोप्टरभित्र राखेर उद्धार गर्ने सीप (लङ लाइन ट्रेनिङ) सिकिरहेकी छन्। उनको त्यो साहसिक कामलाई सिम्रिक एअरलाइन्सले सघाइरहेको छ।

सदरमुकामबाट उनको गाउँ ५२ कोस टाढा तिब्बतको सीमामा पर्छ। पिछडिएको गाउँ। गाउँमा छोरालाई सहरमा पढ्न पठाउँछन् तर छोरीलाई घरछेउकै स्कुल पनि पठाउँदैनन्। ‘छोरीले पनि छोराले जत्तिकै ठूलो काम गर्न सक्छन् भनेर देखाउन यो काम गर्ने हिम्मत गरेकी हुँ’, उनी भन्छिन्।

अहिले उनी काठमाडौंको बौद्धमा बस्छिन्। मण्डिखाटारको एए एकेडेमीकी टेनिस खेलाडीसमेत रहेकी उनी जावलाखेल क्लबकी भलिबल खेलाडी पनि हुन्। १२ कक्षासम्म पढेकी उनी चुमभ्याली होमस्टे र एसिया खामसाङ टे्रकिङ एजेन्सीसँग सम्बद्ध माउन्टेन गाइड पनि हुन्।

पर्वतारोहण गर्दा हिमालमा दुर्घटनामा परेकालाई उनले उद्धार गर्ने (स्लिङ) सीप सिकेकी हुन्। यस्तो सीप जान्ने नेपालमा मुख्य तीन जना र अरू केही गरी करिब १० जना छन्। महिला भने उनीमात्र हुन्।

‘हिमालमा हुने दुर्घटनामा उद्धार गर्न जान्ने नेपालमा मुख्य (प्रोफेसनल) तीन जना छन्। अरू सामान्य सीप जानेका नौ जना छन्। ती सबै पुरुषमात्र हुन्’, फुन्जो भन्छिन्, ‘महिला पर्वतारोही पनि हुन्छन्। उनीहरूको उद्धार गर्न महिलालाई सहज हुन्छ। त्यसैले मैले सिकेकी हुँ। फेरि यस्तो सीप जान्ने खुम्बु क्षेत्रका शेर्पामात्र छन्। शेर्पाबाहेक अरूले पनि यस्तो सीप जान्नुपर्छ भनेर पनि मैले सिकेको हुँ।’
हेलिकोप्टरमा झुन्डिर आकाशमुनि उडिरहँदा डरभन्दा एउटा मान्छेलाई कसरी बचाउने भन्ने सोचिरहने उनी बताउँछिन्। ‘उड्नु त ठूलो कुरा लाग्दैन’, भन्छिन्, ‘एउटा मान्छेको जीवन कसरी बचाउने भनेर सोच्छु र उनीहरूलाई बचाउँदा गर्व लाग्छ।’

डोरीमा झुन्डिएर उड्नुअघि हिउँभित्रका घाइतेलाई भेट्टाउनु, उनीहरूको प्राथमिक उपचार गर्नु र सकुशल अस्पताल पर्‍याउनु महत्त्वपूर्ण भएको उनी बताउँछिन्।
उनीसँगै अन्य १५ जना पुरुषले उद्धार सिकिरहेका छन्। पुरुषसँग एउटी महिलाले तालिम लिँदा पनि आफूलाई कुनै समस्या नभएको उनको भनाई छ। ‘मेरा श्रीमान् र दाइले पूरापूर सहयोग र समर्थन गरिरहनुभएको छ।

त्यसैले १४/१५ जना पुरुषका बीचमा काम गर्दा पनि मलाई कुनै समस्या छैन’, उनी भन्छिन्, ‘कहिले हेलिकोप्टरले हिमालको चुचुरोमा छाडेर एकदुई दिनपछि मात्र लिन आउँछ। त्यस्तो बेलामा पुरुषसँगै बस्नुपर्छ। महिला र पुरुष भन्दैमा राम्रो काम गर्नेलाई छेकबार गर्नु हुँदैन।’

तालिममा उनले रक क्लाइम्बिङ गर्ने तरिका, पाइलटसँगको संवाद, प्राथमिक स्वास्थ्य उपचार, डोरीमा बाँध्ने तरिका, हेलिकोप्टरमा झुन्डिएर उड्ने तरिकालगायतका तालिम सिकेकी छन्।
‘यहाँ तालिम लिइसकेपछि स्विट्जरल्यान्ड गएर थप तालिम लिनेछु। त्यहाँ पनि नि:शुल्क तालिम लिने व्यवस्था मिलिसकेको छ। उता त गाईबस्तुलाई पनि हेलिकोप्टरबाट उद्धार गर्छन्।’ नेपालमा काम र आम्दानी कम हुनसक्छ। यही काम गरेर खान सकिन्छ भन्ने लाग्दैन तर पनि नेपालमै काम गर्ने इच्छा उनको छ।
– See more at: http://annapurnapost.com/News.aspx/story/4412#sthash.h4HZrMfz.gHXYsCbD.dpuf

Translate »